सोसल मिडिया
युनिकोड
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५०० रुपैयाँ बिगो माग दावीसहित आइतबार विशेष अदालत काठमाडौंमा आरोप -पत्र दायर गरेको हो। स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको उनीहरूमाथि आरोप छ।
मिश्रा जेनजी समूहबाट सिफारिसमा प्रधानमन्त्री बनेकी सुशीला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो। त्यतिबेला उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन्। पछि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुलेपछि मिश्राको नियुक्ति रोकिएको थियो।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। अनुसन्धानका क्रममा मिश्रासहित १४ जनाले स्वास्थ्य उपकरण खरिदमा १४ करोड बराबरको अनियमितता गरेको खुल्न आएको अख्तियारको दावी छ।
स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदको क्रममा लागत अनुमान तयार गर्दा देखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामग्री प्राप्त नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामग्री आएको गलत रिपोर्ट, गलत दाखिला प्रतिवेदन र झुट्टा बिल बिजकलगायत तयारी गरी भुक्तानी दिएको अख्तियारको ठहर छ।
मिश्रले मन्त्री हुने आसमा राजीनामा दिएकी थिइन् ।