रामबाघ महलमा ओलीलाई झम्टिनेको संख्या दिनहुँ बढ्दो, मागियो राजीनामा

शुक्रबार, असोज ३१, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट बिदा लिन केन्द्रीय सदस्यले सुझाव दिएका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य अरविन्द सिंहले ओलीको राजीनामा मागेका हुन् ।

“वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा (एमाले)माथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो,” सिंहले भनेका छन् ।

उनले दुई–दुईपटक आफैँले संसद् विघटन गरेकाले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा आमजनतामा घृणा र हाँसोको पात्रमात्रै हुने पनि बताए ।

“चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो । कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन,” सिंहको टिप्पणी छ ।

सिंहले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन मागसमेत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्