मधेस प्रदेशमा सरकार गठनको चर्को प्रतिष्पर्धा, को हुन्छ मुख्यमन्त्री ?

बुधबार, असोज २९, २०८२

मधेस प्रदेशमा कांग्रेस-एमालेलाई बाहिर राखेर सरकार गठनको कसरत चलिरहेको छ। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि मधेसमा नयाँ सरकार गठनको लागि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा लगायतका दलबीच छलफल चलिरहेको हो। 

‘छलफल हिजैदेखि चलिरहेको छ, हेरौँ के हुन्छ,’ माओवादी केन्द्रका सांसद जवाहरलाल कुशवाहाले भने, ‘आज बिहानसम्म हाम्रो जोडघटाउको टुंगो लाल्ला।’

कांग्रेस र एमालेले मधेसमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने तयारी अघि बढाएपछि इतर पक्षले पनि नयाँ गठबन्धनको कसरत गरेको हो।  

एकसय सात सदस्यीय मधेस प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ। 

प्रदेस सभामा जसपा नेपालका १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ। लोसपाका एकजना सांसद निलम्बित छन्। यी पाँच दल मिले मधेसमा सरकार गठनकाे लागि बहुमत पुग्छ।

मधेशमा कांग्रेस र एमालेलाई मात्रै सरकार बनाउन बहुमत पुग्दैन। यहाँ एमालेको २५ र कांग्रेसको २२ सिट छ। नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीका प्रदेश सभामा १–१ सिट छ।

तर नेकपा एमालेकी सांसद शारदा थापाले मधेसमा अब कांग्रेस र एमाले गठबन्धनकाे सरकार बनाउन अबराेध नहुने दाबी गरिन्। उनले इतर पक्षलाई बहुमत जुटाउन समस्या रहेकाे तर्क गर्दै जनमतका सम्पूर्ण सांसदले नयाँ गठबन्धनलाई सहयाेग नगर्ने बताइन्। 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्