असोज मसान्तमा राष्ट्रियसभा अध्यक्ष दाहाल स्विट्जरल्यान्डको जेनेभा उड्ने

सोमबार, असोज २७, २०८२

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन्। अन्तरव्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाने भएका हुन्।

उनले यसै प्रयोजनका लागि आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेका थिए। उनले आफ्नो प्रधानमन्त्रीसँगको भेट नियमितजस्तै रहेको र तीनपटक भेटिसकेको जानकारी दिए। भेटमा संघीय संसदको नेतृत्व गर्दै आफू जेनेभा जान लागेको र त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ।

उनले भने, ‘यो नियमितजस्तै पनि हो। मैले दुई-तीनपटक भेटिसकेको छु। १७ तारिखको (असोज ३१ गते) म जेनेभा जाँदै छु।अन्तरिव्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदै छु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो। जानकारी दिनु थियो। त्यसका मूल विषयहरू यसरी सोचेका छु भनेर मौखिक रूपमा विषयवस्तु जानकारी गराएको छु। मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने भन्ने थिम छ। गत साल एआईको थियो।’

आफूले भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने उनको भनाइ छ।
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्