राष्ट्रपति र जेनजीबीच आज हुने भनिएको वार्ता रोकियो, यस्तो छ कारण 

सोमबार, असोज २७, २०८२

राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारपछि आइतबार डिस्चार्ज भएका उनलाई डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार डाक्टरहरूको सल्लाहसँगै आज तय गरिएको जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम नहुने भएको छ । अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार र आफ्ना मागहरू पूरा हुन नसकेको विषयमा राष्ट्रपति पौडेलसँग जेनजीको छलफल हुने कार्यक्रम रहेको थियो । आज तीन बजेलाई छलफलको मिति तोकिएको थियो। 

गत शनिबार राष्ट्रपति पौडेलसँग वार्ता गर्ने कार्यक्रम तय भए पनि उनी बिरामी परेका कारण वार्ता हुन सकेको थिएन । त्यसैले, उक्त वार्ता आजका लागि सारिएको थियो । तर डाक्टरले उनलाई आराम गर्न भनिएकाले आज पनि जेनजी र राष्ट्रपतिबीच छलफल नहुने भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्