सोसल मिडिया
युनिकोड
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको सुन तस्करी प्रकरणमा पुन र उनका दुई छोरा जितेन्द्र र दीपेशविरुद्ध पनि अनुसन्धान अघि बढाएको हो ।
तस्करीबाट सुन भित्र्याउन जितेन्द्रले बाबुको ओहदा दुरुपयोग गरी आफूलाई हुम्लावासी बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएका थिए ।
जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार सार्वजनिक भएको थियो । पछि सुनको भुक्तानीबाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
उधारोमा तस्करीको सुन ल्याउन जितेन्द्रले आफू उपराष्ट्रपतिको छोरा भएको, उपराष्ट्रपतिको स्वकीय सचिव भएको देखिने कागजात चिनियाँ गिरोहलाई बुझाएका थिए । पछि सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेको तथ्य पनि खुलेको थियो । तर, पूर्वराष्ट्रपति पुनमाथि अनुसन्धान नै भएको थिएन ।
पुनका अर्का छोरा दीपेश असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका छन् ।
सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता किटान गर्दै सुन जाँचबुझ आयोगले पनि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणका पनि आरोपित हुन् । हाल जितेन्द्र अमेरिकामा र दीपेश भारतमा रहेको प्रहरी अधिकारीहरूको दाबी छ ।