सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्दैछ। बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी बैठकमा नेताहरु बोल्नेक्रम बाँकी रहेकाले आज पनि बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ।
बैठकमा पार्टीको महाधिवेशन निर्धारित समयमा गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेबारे नेताहरूबीच मतभेद रहेको प्रवक्ता डा.प्रकाशशरण महतको भनाई छ। कांग्रेसले निर्वाचनसँगै संसद् पुनर्स्थापनाको विकल्प खुला राखेर जाने भएको छ।
शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता महतले निर्वाचनसँगै संसद् पुनर्स्थापनाको विकल्प खुला राखेर जान कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए। उनले भने, ‘निर्वाचन हुन्छ हुँदैन भन्ने कुरा पनि अन्योलमा परेको छ। हामीले संसद् पुनर्स्थापना बाटो पनि खुला राख्नुपर्छ।’
सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर नदिखिएको कांग्रेसको ठहर छ। ‘संवैधानिक प्रबन्धअनुसार त यो सरकार बनेको होइन । तर, निर्वाचन गर्ने तिथिमिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न । उनले भने, ‘जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरा नकार्न सक्दैनौं । तर, सरकार निष्पक्ष रूपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’