प्रधानमन्त्रीको सक्रियतामा राष्ट्रिय विपद् परिषद्को बैठक, यस्ता छन् एजेन्डा

मंगलबार, असोज २१, २०८२

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषदको बैठक बस्न लागेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार बैठकमा बाढीपहिरोबाट आइपरेको विपत्तीका विषयमा छलफल हुनेछ ।

बैठकका लागि पीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्ने लगायतका ९ एजेण्डा तय गरिएको छ । बैठकमा विपदमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सडक तथा अत्यावश्यक सेवा सुरुचारु गर्ने, राहत वितरण गर्ने, मृतक र बेपत्ताका परिवारलाई कानुन बमोजिम राहत उपल्ब्ध गराउने विपद पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने, अस्थायी आवास निर्माण गर्ने लगायतका एजेण्डामा छलफल तथा निर्णय गर्ने तयारी छ ।

असोज १७, १८ र १९ गतेको मौसमी प्रणालीका कारण भारी वर्षासँगै आएको बाढी पहिरोले ६० जनाकोृ ज्यान गएको थियो । सबैभन्दा धेरै क्षति इलाममा भएको छ । बाटाघाटा, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनामा पनि करोडौंको क्षति पुगेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्