आईतबार बिहानैसम्म निरन्तर झरी, पछिल्लो समय कहाँ पर्यो धेरै पानी ?

शनिबार, असोज १८, २०८२

काठमाडौंमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै नैकापमा वर्षा भएको छ । 

नैकापमा ६ घण्टामा ३९ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पानीपोखरीमा २५.२, कपनमा २४.४, सुन्दरीजलमा २१.८ र बबरमहलमा २१ मिलिमिटर वर्षा भएको मौसमविद् डेविड ढकालले जानकारी दिए । 

नेपालभरमा सबैभन्दा धेरै वर्षा पर्साको वीरगञ्जमा भएको छ । वीरगञ्जमा ७८.८ मिलिमिटर वर्षा मापन गरिएको छ । बारा, पर्सा, सर्लाही, रौतहटमा अन्य स्थानमा भन्दा धेरै वर्षा भइरहेको उनले जानकारी दिए । 

“काठमाडौंमा आज दिनभर र राति पनि यस्तै वर्षा हुनेछ । केही समय केही कम वर्षा भएजस्तो भए पनि पुनः वर्षा बढ्नेछ,” मौसमविद् ढकालले भने, “दिउँसोजस्तै यही अनुपातमा वर्षा हुनेछ ।” 

भोलि बिहानबाट भने काठमाडौं उपत्यकामा वर्षा केही कम हुने उनले जानकारी दिए । 

काठमाडौंमा गएराति १२ बजेदेखि लगातार वर्षा भइरहेको छ । त्यसभन्दा अगाडि राति ९ बजेबाट वर्षा सुरु भए पनि केही समय रोकिएर १२ बजे पुनः वर्षा भएको र दुई घण्टा रोकिएर २ बजेबाट पुनः पानी पर्न थालेको मौसमविद् ढकालले जानकारी दिए । राति १२ बजेबाट भने काठमाडौंमा लगातार वर्षा भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्