मौसमविद्का अनुसार दशैं हिलाम्य हुने, पोहोरको जस्तै पानी दर्किने

मंगलबार, असोज १४, २०८२

मौसमविद्ले अब ‘भारी’ वर्षाको सम्भावना औँल्याएका छन् । पोहर साल असोजको जस्तै ‘भीषण’ पानी पर्ने सम्भावना धेरै रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले उल्लेख गरेका छन् ।

“फोरकास्ट (पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ,” उनले मंगलबार (असोज १४) बिहान फेसबुकमा लेखेका छन्, “तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।”

उनले देशमा यही अक्टोबर ३ देखि ७ (असोज १७–२१)सम्म भारी वर्षा हुन सक्ने जनाएका छन् । हाल तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनले स्पष्ट पारेका छन् । उनले यसअघि पनि यस्तो सम्भावना औँल्याएका थिए ।

“भोलि (असोज १५)देखि वर्षा हल्का/मध्यम हुँदै बिहीबार (असोज १६) रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ,” उनले लेखेका छन् ।

उनले बडादसैँको टीकापछि यात्रा गर्दा विशेष ध्यान दिन सचेत गराएका छन् । भारी वर्षा तीन–चार दिनसम्म हुने देखिएको उनले जनाएका छन् । हिले दसैँ हुने उनको भनाइ छ ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि दसैँ टीकाको भोलिपल्ट (असोज १७)देखि पूर्वी नेपालबाट भारी वर्षा गराउने प्रणाली विकास हुँदै गरेको जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्