मनदेवीलाई मनपराएका कुलमानले मण्डललाई शून्य अङ्कको हिसाब बुझाए 

शनिबार, असोज ११, २०८२

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले विद्युत् विकास विभागको महानिर्देशक जीवछ मण्डललाई हटाएर मनदेवी श्रेष्ठलाई नियुक्त गरेका छन् । श्रेष्ठ विभागको पहिलो महिला महानिर्देशक बनेकी छन् ।

मण्डललाई मन्त्रालयमा सरुवा गरिएको छ । करिब डेढ महिनाअघि तत्कालीन मन्त्री दिपक खड्काले मण्डललाई महानिर्देशक बनाएका थिए । मण्डलले सहसचिव हुँदा घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा रहँदा कार्यसम्पादन मूल्यांकनमा शून्य अङ्क दिएका थिए, जसको उद्देश्य उनलाई हटाउनु थियो । 

गत चैत ११ को मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्री बनेपछि घिसिङले माथिल्लो तहका कर्मचारी सरुवा र खटनपटन सुरु गरेका छन् । हितेन्द्रलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको छ ।

असोज ५ को मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । घिसिङले भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि सम्हालेका छन्, तर ती मन्त्रालयमा कर्मचारी सरुवा गरेका छैनन् । ऊर्जा मन्त्रालयले भदौ १८ र २० मा गरेको सरुवा निर्णय पनि रद्द गरिएको छ । मण्डलको हटाउने निर्णय शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट भएको हो ।
 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्