दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैलिएको भन्दै ओली कड्किए

शुक्रबार, असोज १०, २०८२

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैल्याएर दिशाहीन गन्तव्यको राजनीति गर्नेहरूप्रति खबरदारी गर्न आग्रह गरेका छन् । 

जेनजी पुस्ताको आन्दोलनबाट नजायज फाइदा उठाई दलविहीन र गन्तव्यहीन बाटोमा मुलुकलाई लान खोजेकोप्रति अध्यक्ष ओलीले आम पार्टीपंक्तिसहित सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई खबदारी गर्न अपिल गरेका छन् ।  

प्रेस चौतारी नेपालका प्रतिनिधिहरूसँग भक्तपुर गुन्डुस्थित निवासमा बिहीबार साँझ अध्यक्ष ओलीले भने, “प्रतिस्पर्धाको लोकतान्त्रिक राजनीति, मतदानबाट प्रतिनिधि छानिएर आउने व्यवस्थाप्रति घृणा फैल्याउने यो कस्तो गन्तव्य हो ? यस्तो दिशाहीन राजनीति कसैले गर्नु हुँदैन । यसलाई आम पार्टीपंक्ति, लोकतान्त्रिक शक्तिले खबरदारी गर्न मेरो अपिल छ ।” 

राजनीतिक दलका झण्डा देश बचाउन उठाइने भएकाले दलविहीन राजनीति भनेर किन घृणा फैल्याएको छ ? भन्दै  ओलीले थपे, “विवेक शून्य, क्षतिग्रस्त दिमाग, क्षतिग्रस्त लक्ष्यले अराजकताको पैरवी मात्रै गर्छ ।” 

लोकतन्त्र र दलीय व्यवस्थाप्रति घृणा फैलाएर अर्को कुन व्यवस्था र तन्त्र चाहेको हो भन्दै अध्यक्ष ओलीले प्रश्न गरे । 

निर्वाचित निकाय देख्नै नसक्ने र संरचनामा आगजनी गर्ने काम जेनजी पुस्ताबाट नभएको अध्यक्ष ओलीले बताए । “जेनजीका माग ठिक थिए । भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शीताको मागमा कसैको बिमति होइन”, अध्यक्ष ओलीले भने, “तर, जेनजी पुस्ताले नेपालको राष्ट्रिय झण्डा ओडेर सिंहदरबारमा आगो लगाउन सक्दैनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजुजी राणलाई त्यस्तो अमानवीय व्यवहार जेनजी पुस्ताले गर्न सक्दैन । जेनजी पुस्तालाई देशको माया छ, ऊ सँग विवेक छ ।” 

प्रतिशोधको भावले सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएर सामाजिक मूल्य, मान्यता समाप्त पार्न खोजिएको अध्यक्ष ओलीको भनाइ छ । सांस्कृतिक धरोहरहरूलाई पूर्णरूपमा ध्वस्त बनाउनु सांस्कृतिक विचलन आएको उनले बताएको ओलीको सचिवालयको प्रेस नोटमा उल्लेख छ । 

“अहिले देश र समाजलाई आतंकित पारिएको छ । सर्प, बाघबाट मानिलाई त्रास छैन । सार्वजनिक सम्पत्ति, जनताको धनजनको क्षति पुर्‍याउने मान्छेबाटै त्रसित बनाइएको छ,” उनले भने, “जेनजी पुस्ताको आडमा तैंले कुनै दलप्रति, व्यक्तिप्रति समर्थन गरिस भने घर जलाईदिन्छु । कुटपिट गर्छु भनेर समाजमा आतंक सृजना गरिएको छ । यो प्रवृत्तिलाई तत्काल रोक्नुपर्छ । समाज र मान्छेलाई आतंकित बनाउनेहरूलाई कानुनी काबाहीको दायरामा लिनुपछए ।” 

नेपालले यति ठूलो क्षति कहिल्यै व्यहोर्नु नपरेको भन्दै अध्यक्ष ओलीले यो क्षतिले समाज र देश विकासमा चौथाई शताब्दी पछाडि धकेलिदिएको बताए । 

“अब खरानीबाट उठ्नु परेको छ । सुधार गर्दै अघि बढ्ने हो । अब आउने पुस्ता सुख, समृद्धिमा बाँच्न पाउनुपर्छ भन्ने हो,” उनले भने, “तर, अहिले जुन ढंगले अघि बढ्न खोजिएको छ । यसबाट समृद्धिको गन्तव्यमा नयाँ पुस्तालाई कहिल्यै पुर्‍याउँदैन ।”

भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउँदा, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको झण्डा उठाउँदा आफूले अपमान व्यहोर्नु परेको अध्यक्ष ओलीले बताए । रवीन्द्रनाथ टैगोरको ‘एक्ला चलो रे’ कविताको सारासं सुनाउँदै अध्यक्ष ओलीले भने, “सत्यमा एक्लै भए पनि उभिनु । सत्य चिर स्थायी हुन्छ ।” 

दलहरू मुलुकप्रति जिम्मेवार रहेकाले दलभित्रै व्यवस्थापन र समाधान खोजिने उनले बताए । केही पार्टी नेताहरूको सार्वजनिक टिप्पणीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, “पार्टीको कुरा फोरममा चलाउने हो । सडक र मौसमी हावाको भरमा चलाउनु हुँदैन । सबैको व्यवस्थापन हुन्छ ।” 

प्रेस तथा वाक स्वतन्त्रता हिजोको दिनमा पनि लडेरै लिएकाले सत्यतामा अडिग रहेको समाचार, विचार संप्रेषण गर्न पत्रकारहरूलाई अध्यक्ष ओलीले आग्रह गरे । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्