ओलीले २०७४ मा खोसेको मन्त्रालयको नासो कार्की सरकारले सरक्कै फर्कायो

बिहीबार, असोज ९, २०८२

सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग तथा राजस्व अनुसन्धान विभागलाई विगतमा जस्तै सम्बन्धित मन्त्रालय मातहत नै ल्याउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई मन्त्रालय मातहत नै ल्याउने निर्णय गरेको हो ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत रहनेगरी कार्यक्षेत्र तोकेको छ । राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सार्ने निर्णय पनि भएको छ ।

यसअघि यी तीनवटै विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा राखिएको थियो । विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्त्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्