काठमाडौँका सिडिओ छविको सातो गयो, अहिलेसम्म फर्किएनन् कार्यालय 

सोमबार, असोज ६, २०८२

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी परिचालन सही ढंगले गर्न नसकेको आरोप खेपेका काठमाडौँका सिडिओ छवि रिजालको सातो गएको छ। अघिल्ला गृहमन्त्री रमेश लेखकले काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएपछि उनी भदौ ४ गतेदेखि काठमाडौँको सिडिओको भूमिकामा छन्। 

उनकै कारण जेनजी प्रदर्शनकारीको ज्यान गएको भन्दै केही प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय, काठमाडौँ पुगेर तोडफोड पनि गरे। रिजालको घरैसम्म पुगेका आन्दोलनकारीले उनका छोरीको समेत तस्बिर सार्वजनिक गर्दै अनेक धावा पनि बोले। यी सबै घटनाले भूमिगत भएका छबि अहिलेसम्म कार्यालय नफर्किएको बुझिएको छ। 

प्रदर्शनमा उत्रिएकालाई गोली चलाउन आदेश दिएको र उनकै आदेशले धेरैको ज्यान गएको आरोप लागेको छ। सुरक्षा खतरा बढेपछि उनी कार्यालयमा नझुल्किएका हुन्। 

जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट हटाईएको उनको तस्बिर अहिलेसम्म राखिएको छैन। गृह मन्त्रालय स्रोतका अनुसार उनको केही दिनमै सरुवा पनि हुँदैछ। 
 

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्