सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनको बलमा केपी ओली सरकार गिरेपछी बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रशासनिक सुधार गृह सचिव गोकर्णमणी दुवाडी बाटै गर्ने भएको छ। उनको सरुवाको तारतम्य मिलिसकेको उच्च श्रोतको दाबी छ। सहसचिव हुँदा जम्मा एक पटक सिडिओ चलाएका उनलाई कामगर्न नसक्ने र अघिल्लो सरकारको गृहमन्त्री रमेश लेखकको हल्कारा भएको अभियोगमा घर जानु भन्दा दुई महिना अगाडी नै धपाईने भएको हो। दुवाडी मंसीर ९ गते सचिवको पाँच वर्षे कार्यकाल सकेर स्वयम्भु घरमा थन्किने गरी बाटो लाग्ने भएका छन्।
दुवाडीलाई हुत्याएर गृह सचिव बन्न केही सचिवले सुंड पसार्न थालिसकेका छन्। श्रम सचिव कृष्णहरि पुस्कर, भूमि सचिव केदार नाथ शर्मा, उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेल सहित सार्वजनिक खरिदका मुकुन्द निरौलाहरू च्यानल मिलाएर लागिपरेका छन्। रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले अन्तिमा गृहसचिव पड्काउने एक सचिवले बताएका छन्।
अहिलेका गृहमन्त्री ओम प्रकाश अर्याल काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको कोटाको भएको हल्लाका बीच बालेनको कान फुकेर गृह सचिव फुत्काउन पुस्कर मिलाएरै लागिपरेका छन्। बालेनका बुबा जन्मिएको महोत्तरीकै पुस्करले जिलाबासीको जोड्ती लगाएर गृहसचिव पड्काउने खेलोमेलो गरिरहेका छन्। उता बालेन मेयर बनेका बखत काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेल पनि गृहसचिव खान मेलो मिलाईरहेकै छन्। उता, मन्त्री अर्याललाई बतास लगाउन निरौलाले केही मान्छे लगाएको श्रोतको भनाई छ।
भूमि सचिव शर्माले भने मन्त्री अर्यालका सहपाठी मार्फत दबाब बढाएका छन्। वाग्मती प्रदेशका प्रमुख सचिव भूपाल बराल पनि गृहसचिव बन्न खुट्टा उचालेर लागिपरेका छन्।