प्रधानमन्त्री कार्कीको यस्तो बन्यो क्याबिनेट, थपिए यी पाँच मन्त्री

आइतबार, असोज ५, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले थप ५ मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

जसमा उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र स्वास्थ्यमन्त्रीमा मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्र सिफारिस भएका छन्।

त्यस्तै मदन परियार कृषिमन्त्रीमा र जगदीश खरेल सञ्चारमन्त्री नियुक्तिका लागि सिफारिस भएका छन्।

परियार राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक हुन्। २०६८ सालमा गठित उक्त आयोगले १० प्रदेशको खाकासहित प्रतिवेदन बुझाएको थियो। तर, संविधान सभा नै विघटन भएपछि उक्त प्रतिवेदन कार्यान्वयन भएन।

जगदीश खरेल पत्रकार हुन्।

महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्। नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए। 

यद्यपि यी पाँचै जनाले शपथ लिने टुंगो भने लागिसकेको छैन । स्रोतले भन्यो, 'नाम त पाँच जनाको सिफारिस भएको छ । तर शपथ हुने बेलासम्म परिवर्तन हुने सम्भावना पनि प्रबल छ ।' स्रोतका अनुसार नाम परिवर्तन हुनसक्ने भन्दै अहिले नै नियुक्त नगर्न शीतलनिवासमा फोन गरिएको छ ।

'नाम सिफारिस भए पनि कुरै मिलिसकेको छैन,' स्रोतले भन्यो, 'छलफल जारी छ । नामहरू चेन्ज हुन सक्छ । अहिले नै नियुक्त नगर्न भनेर फोन गरिएको छ ।' 

शीतलनिवास स्रोतले पनि पाँच मन्त्रीको नाम सिफारिस भएर आए पनि नियुक्ति र शपथ भोलिमात्रै हुने जनाएको छ ।

यसअघि अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। 

 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्