तीनवटा मेसिन प्रयोग गरेर नारायणगढ–मुग्लिन सडक खुलाईदै, ३८ घण्टादेखि ठप्प

आइतबार, असोज ५, २०८२

चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक खुलाउने प्रयास शनिबार असफल भएपछि आज (आइतबार) बिहानैदेखि पहिरो हटाउने काम पुन: सुरु गरिएको छ। 

चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार आज बिहान ५ बजेदेखि तीनवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउन थालिएको हो। 

‘पहिरो खस्ने क्रम रोकियो भने अब ३/४ घण्टामा बाटो खुल्ला कि’ , आइतबार बिहान ७ बजेर ५० मिनेट जाँदा डीएसपी खनालले भने, ‘समस्या नै पहिरो पन्छायो, फेरि खस्ने हो।’ 

उनका अनुसार शुक्रबार साँझ ६:२५ देखि यो खबर लेख्दासम्म नारायणगढ-मुग्लिन सडक बन्द छ। अर्थात् राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख राजमार्ग झन्डै ३८ घण्टादेखि ठप्प छ। जसका कारण सवारीसाधनको लाइन लागेको छ। यात्रुको बिजोग भएको छ।

निरन्तर पहिरो खसिरहेकाले शनिबार साँझसम्म सडक खुलाउन नसकिएपछि राति पहिरो पन्छाउने काम रोकेर आज बिहान पुन: थालिएको हो। 
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्