सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘जेनजी’का नाममा आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको चाक्सीबारीस्थित निजी निवासको बिहीबार (असोज २) अनुगमन एवं निरीक्षणपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।
गणेशमान सिंहको घरलाई राजनीतिक व्यक्तिहरूले मन्दिरका रूपमा लिने गरेका उनले उल्लेख गरे । आगजनी र तोडफोड गरी उक्त घर नष्ट पारिएकामा उनले चिन्ता व्यक्त गरे ।
उनले जेनजीले इतिहास मेटाउन आन्दोलन नगरेको बताए । जेनजीको आवरणमा आपराधिक मनसाय बोकेका व्यक्तिहरूले यस्तो क्रियाकलाप गरेको उनले आरोप लगाए ।
उनले ०४६ सालको परिवर्तन ल्याउनमा चाक्सीबारीले भूमिका खेलेको बताए । किसुनजी (कृष्णप्रसाद भट्टराई)को आश्रम, विराटनगरस्थित कोइराला निवासलगायत कांग्रेसका पुराना इमानदार नेताहरू बस्ने घरहरू जलाइएको उनले उल्लेख गरे ।
आफूहरू विधिको शासनका निम्ति लडिरहेको उनले बताए । विधिको शासन स्थापित गर्न आगजनी र तोडफोड गर्नेमाथि कारबाही हुनुपर्नेमा उनले जोड दिए ।
आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूमा उनले श्रद्धाञ्जली व्यक्त गरे । समयको मागबमोजिम दलहरू संस्थागत भएर अघि बढ्न जरुरी रहेको उनले औँल्याए । शून्यतामा कसैले पनि केही गर्न नसक्ने उनले बताए ।