अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले सिंहदरबार पुगेर पद सम्हालिन्

आइतबार, भदौ २९, २०८२

अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा पुगेर पद सम्हालेकी छिन्।  सिंहदरबारमा मुख्यसचिव एकनारायण अर्याल सहित प्रधानमन्त्री कार्यालयका कानून सचिव फणीन्द्र गौतमलगायत विभिन्न मन्त्रालयका सचिव एवं कर्मचारी स्वागत गरेका छन्। पद सम्हाल्नुअघि लौनचौरमा पुगेर प्रधानमन्त्री कार्कीले सहिदको प्रतिमामा माल्यार्पण गरेकी थिइन्। 

शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले शनिबार आन्दोलनका घाइते भेट्न अस्पताल पुगेकी थिइन्। आजै सिंहदरबारमा पद सम्हाल्दै प्रधानम्त्रीले जेनजी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई १० लाख दिने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्याल बताएका छन्।

आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा कार्कीले पदभार ग्रहण गरेकी हुन्। कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ। हालसम्म जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्