सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार सिंहदरबार प्रवेश गर्ने भएकी छन्। उनी बिहान ११ बजे कार्यकक्ष प्रवेश गरी कार्यालयको काम सम्हाल्ने तयारी भएको छ। उनले साईत हेरायेरै आज मात्र पदभार सम्हाल्ने भएकी हुन्।
गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा उनले कार्यभार सम्हाल्नेछिन्। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एक समारोहका बीच पथ ग्रहण गरेर राति अबेर बालुवाटार फर्किएकी उनी शनिवार बिहान सबेरैदेखि राजकाजमा सक्रिय भइन्।
उनले शनिवार बिहानै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको शव व्यवस्थापन र पीडित परिवारलाई तत्काल राहतका विषयमा सरकारी अधिकारीहरुसँग छलफल गरिन्। त्यस्तै क्षतिग्रस्त संरचनाहरुको विवरण लिइन्। र, आगामी व्यवस्थापनका विषयमा गरिएका तयारीबारे पनि जानकारी लिइन्।
मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलगायतलाई बालुवाटारमै बोलाइन्। शान्ति सुरक्षा, अर्थतन्त्र र सरकारी कोषको अवस्थाबारे पनि जानकारी लिइन्। अनि कतै पनि सरकारविहीनताको अवस्था हुन नदिन सबैलाई निर्देशन दिइन्।
दिउँसो उनी विभिन्न अस्पतालमा रहेका आन्दोलनका घाइते तथा प्रहरी कर्मचारीको अवस्था बुझ्न निस्किइन्। राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताललगायत विभिन्न अस्पतालमा रहेका घाइतेको अवस्था बुझिन्। प्रत्येक घाइतेको स्वास्थ्य अवस्था मात्र बुझिनन्, उनीहरुको कुरा पनि सुनिन्।
त्यसक्रममा उनले घाइतेलाई शान्त्वना दिइन्। भएको क्षतिप्रति दुःख व्यक्त गरिन्। अनि जेनजी आन्दोलनका लागि ज्यानको बलिदानी दिन मैदानमा उत्रिएका प्रत्येक युवाको भावनाभन्दा बाहिर नजाने वाचा गरिन्।