सोसल मिडिया
युनिकोड
इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश बनेकी सुशीला कार्कीलाई त्यसको ठिक ९ बर्षपछि प्रधानमन्त्री हुने सौभाग्य मिलेको छ। कार्की नेपालको इतिहासमै पहिलो महिला कार्यकारी प्रमुख बनेकी छन्।
सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिला प्रधानन्यायाधीश बन्न सफल कार्की पहिलो प्रधामन्त्रीमा भाद्र २७ गते नियुक्त भएकी छन्। उनी २०७३ असार २७ गते पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिईन।
कार्कीको जन्म २००९ जेठ २५ गते शंखरपुर–३ विराटनगरमा भएको हो । उनले प्रधानन्यायाधीशकारुपमा करिब ११ महिना काम गरेकी थिईन। हक्की प्रधानन्यायाधिश कार्कीलाई कांग्रेस-माओवादीको सरकारले महाअभियोग लगाउन खोजेपनि त्यो सफल हुन सकेन।
उनले महेन्द्र मोरङ कलेज, विराटनगरबाट २०२८ बीए र वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा २०३१ मा एमए गरेकी छन् ।
उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बीएल) गरी कानुनी यात्रा सुरु गरिन् । अधिवक्ता भएर कानुन क्षेत्रलाई कर्मथलोकारुपमा कार्कीले २०३५ चैत १६ गतेदेखि काम सुरु गरिन् ।
उनले तीन वर्ष (२०४२–२०४५) महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । वि.सं. २०४५ देखि २०४७ सम्म सुशीलाले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।
त्यस्तै, २०६१ पुस ५ गते वरिष्ठ अधिवक्ता बनिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । २०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएकी थिइन् ।
अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनियाँ र नेदरल्यान्डलगायतका देशको भ्रमण गरिसकेकी सुशीला नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपुण छन् । सुशीलाले तीन दशकभन्दा बढी वकालत क्षेत्रमा काम गरिन् भने सात वर्ष सर्वोच्च अदालतको न्यायाधीश भएर काम गरिन् ।
निडर स्वभाव र सरल जीवनशैली अपनाउने सुशीला न्याय क्षेत्रमा स्वच्छ छवियुक्त मानिन्छन् । नेपालको संविधान जारी भएपछि पहिलोपटक तीन महिला उच्चपदमा पुग्न सफल भएका थिए । अहिले कार्की देशकै पहिलो कार्यकारी प्रमुख भएकी छिन्। यो बिचमा देशकै पहिलो मुख्यसचिव बन्ने अवसर लीलादेवी गड्तौलाले पाएकी छन्। पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानमन्त्री र प्रधानन्यायाधीश कार्की र सभामुख ओनसरी घर्तीलाई सो अवसर मिलेको छ ।