भाग्यमानी शुशीला, २७ गतेको संयोगले न्यायपालिका र कार्यपालिकाको पहिलो महिला बनिन्

शुक्रबार, भदौ २७, २०८२

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।

कार्की २०७३ असार २७ गते पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिईन भने आज २०८२ भदौ २७ गते नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन्।  उनका लागि २७ गते फापेको छ। 

जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश पनि हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे सरोकारवाला पक्षबिच भएको छलफलमा संसद् विघटन र जेनजीका माग सम्बोधन गर्नेगरी कार्कीको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्