सोसल मिडिया
युनिकोड
हिजो बिहीबार भएको सचिव बैठकमा मुख्यसचिव एकनारायण अर्यालले नयाँ प्रधानमन्त्री शुक्रबारै आज आउने संकेत गरेका छन् । नेपाल सरकारका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अर्यालले भने, ‘भोलि नयाँ प्रधानमन्त्री आउने सम्भावना प्रवल छ, भोलि नभए पर्सि आउनुहुन्छ सबै जना तयारी अवस्थामा रहनुहोला ।’
हिजो २ बजेदेखि ४ बजेर १५ मिनेटसम्म सचिवहरूको जुम बैठक भएको थियो । सो बैठकमा मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक रिर्पोट सचिवहरूबाट लिएपछि मुख्यसचिवले प्रधानमन्त्रीको शपथ ग्रहण र पदभारको प्रसंग निकालेको एक सचिवले जानकारी दिए ।
उनका अनुसार मन्त्रालयका कोठाहरूलाई सफा गरेर बस्न योग्य बनाउन, बस्न योग्य छैन भने टेण्ट टाँगेर भए पनि तयारी अवस्थामा रहन सचिवहरूलाई मुख्यसचिवले निर्देशन गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणपश्चात पदभार ग्रहणका लागि सिंहदरबारसम्म ल्याउनका लागि सवारी साधनहरू के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।
सिंहदरबार भित्रका सवारीसाधनहरू जलेर नष्ट भएको कारण कार्यालयहरूमा सुरक्षित रहेका गाडीहरू सिंहदरबारमा ल्याउन सचिवहरूलाई आग्रह गर्दै अर्यालले बैठकमा भने, ‘नयाँ आउने प्रधानमन्त्री र मन्त्रीहरू सामान्य सेवा सुविधा खोज्नेहरू आउनुहुन्छ, प्रेसर हुँदैन । हामी तयारी अवस्थामा रहनु पर्छ ।’
सवारीसाधन र कार्यालयको विषयमा छलफल भइरहेको बेला राष्ट्रिय योजना आयोगका सचिव सुमन अर्यालले योजना आयोगमा मन्त्रीहरूका लागि कोठाहरू उपालब्ध भएको जानकारी गराएका थिए । योजना आयोगमा उपाध्यक्ष र सदस्यहरू नभएका कारण मन्त्रीहरूलाई पदभार त्यही गर्न सकिने उपाय सचिव अर्यालले बैठकमा राखेको एक सचिवले जानकारी दिए ।