संसद राख्ने कि विघटन गर्ने ? टुंगो लगाएपछि आजै नयाँ प्रधानमन्त्रीको सपथ

शुक्रबार, भदौ २७, २०८२

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुङ्गो लागिसके पनि संसद्लाई के गर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समूहसहित सम्बद्ध पक्षसँग छलफल गर्दैछन् । बिहान ९ बजेपछि शीतल निवासमा प्रधानसेनापति अशोकराज सिग्देलसहितको सहभागितामा छलफल हुने बताइएको छ । 

यसअघि बिहीबार दिउँसोदेखि अबेर रातिसम्म राष्ट्रपति पौडेलले विभिन्न पक्षसँग छलफल गरेका थिए । पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन राजनीतिक दलहरू पनि सहमत भएका छन् । तर, संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति हुन बाँकी छ । 

आन्दोलनकारी पक्ष जेनजी समूहले संसद् विघटन गर्नुपर्ने अडान लिएको छ । तर, राजनीतिक दल, कानुनका विज्ञहरूले संसद जोगाएरै जेनजीका माग पूरा गर्न सकिने राय राष्ट्रपति पौडेललाई दिएका छन् । 

भदौ २३ र २४ गते चलेको दुई दिने जेनजी आन्दोलनले एमाले र कांग्रेसको नेतृत्वमा रहेको सरकार ढालिदिएको थियो । राजनीतिक दलका नेताहरू अहिले पनि सुरक्षित स्थानमा बसिरहेका छन् । यद्यपि, युवा संगठन र विद्यार्थीहरू हिजोदेखि सानै संख्यामा भए पनि सक्रिय देखिएका छन् । उनीहरूले संविधान जोगाउनुपर्ने माग गरेका छन् । 

यसैबीच छलफल निचोडमा पुगे राष्ट्रपतिले आजै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गर्ने सम्भावना छ । शपथ पनि आजै हुने शीतल निवास स्रोतले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्