सोसल मिडिया
युनिकोड
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाउने तयारी गरिएको छ । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै शपथ ग्रहण गराउने सम्भावना रहेको शितल निवास स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति पौडेलले जेनजी समूहको चर्को दबाबका बीच शीतल निवासमा बिहीबार मध्यरातसम्म प्रधानसेनापति, विभिन्न दलका नेता, संविधानविद्लगायतसँग छलफल गरेका थिए । दल र संविधानविद्हरूले संविधान नमासिने गरी कदम चाल्न सुझाएका थिए ।
राष्ट्रपति संविधानको संरक्षक भएकाले उनले पाएको अधिकारअन्तर्गत गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । जेनजी आन्दोलनकारीहरूको मागअनुसार नै कार्कीको नाममा सहमति जुटेको बताइएको छ ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्टपति पौडेलले संवैधानिक कानुनका विज्ञहरूसँग पनि बिहीबार अबेरसम्म छलफल गरेका थिए । संविधानलाई जीवित राख्ने गरी कार्कीलाई कसरी नियुक्त गर्न सकिन्छ ? भन्ने विषयमा राष्टपति पौडेलको चासो थियो ।
संसद् विघटन गरिनुपर्ने जेनजीहरूको मागमा भने राष्ट्रपतिले निर्णय दिन नसकेकाले आज पुन: वार्ता गर्न लागिएको हो।
जारी छलफलमा संसद् रहेकै अवस्थामा गैरसांसद कार्कीलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गरिएकाले निष्कर्षमा पुग्न कठिन भएको हो।
तथापि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिने विषयमा संविधानविद्हरूसँग परामर्श गरेका छन्।
संविधानको उक्त उपधारामा लेखिएको छ- संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ।
हिजो नै राष्टपति पौडेलले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका थिए । प्रधानसेनापति अशोक राज सिग्देलसमेतको सहभागितामा भएका यी छलफलमा कार्कीमा नाम सहमति जुटेपछि उनलाई संविधानको रा्ष्ट्रपति संरक्षक हुने हैसियतलेमात्रै नियुक्त गर्न लागिएको छ । छलफलबारे अनौपचारिक रूपमा राजनीतिक दलहरूलाई पनि जानकारी भने गराइएको स्रोतहरूले उल्लेख गरेका छन् ।
अन्तरिम सरकारको प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनाउने लगभग पक्का भएसँगै मुलुकले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको हो। नेपालमा महिला राष्ट्रपतिको रेकर्ड भने विद्यादेवी भण्डारीले बनाइसकेकी छन्।