निजामती सेवा दिवसको अवसरमा प्रधानमन्त्री ओलीले दिए यस्तो अर्ति उपदेश

आइतबार, भदौ २२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको उनको भनाइ छ । निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ ।’

प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा लेखिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक छ । नागरिक सेवा खोज्दै होइन, सेवाले नागरिक खोज्ने बेला आएको छ । टेबल र कुर्चीबाट मात्र सेवा होइन, प्रविधिबाट विस्तार हुनुपर्ने बेला आएको छ ।’

पछिल्लो दिन निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको बताउँदै उनले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुःख दिने कार्य सरकारलाई सह्य नहुने स्पष्ट पारेका छन् ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘यस निजामती कानूनले कर्मचारी वर्गको उन्नयनमा मात्र होइन, संघीयताको डेलिभरीमा नयाँ उचाइ दिनेछ,’ ओलीले भनेका छन्, ‘मुलुकमा मानव पुँजी व्यवस्थापन र परिचालनबाट प्रशासनिक संघीयताको एक फड्को तर्ने संघारमा हामी लागेका छौं ।’

प्रधानमन्त्री ओलीले सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ क्रियाशील हुन आह्वान पनि गरेका छन् । उनले भनेका छन्, ‘नागरिकको दैनिक हात हातमा सेवाहरुलाई पारदर्शी, जिम्मेवार र परिणाममुखी ढङ्गले प्रवाह गर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘काम र जिम्मेवारी पन्छाउने होइन, मुलुकप्रति प्रतिबद्ध र नागरिकतर्फ संवदेनशील कर्मचारीको अपेक्षा नागरिकले राखेका छन् । यसका लागि सम्पूर्ण निजामती कर्मचारीहरु उच्च मनोवलका साथ अग्रपंक्तिमा क्रियाशील हुनुपर्ने आवश्यकता रहेको छ ।’

आजको युग प्रविधिमैत्री सुशासनको युग भएको भन्दै प्रधानमन्त्री ओलीले डिजिटल रुपान्तरण, ई–गभर्नेन्स, तथ्यांकमा आधारित नीति निर्माण र सहज एवं पहुँचयोग्य अनलाइन सेवा प्रवाहमार्फत नागरिकलाई छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउनु निजामती सेवाको प्रमुख दायित्व भएको स्मरण गराएका छन् ।

सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरी सर्भिस म्यापिङ गरी नागरिकका आवश्यकताका आधारमा संस्थागत र नीतिगत पुनरावलोकन गरी सार्वजनिक खर्च, कार्यालय तथा दरबन्दी कटौतीमा जोड दिँदै आएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय स्रोत साधनको सर्वोतम उपयोग गर्ने र पारदर्शी प्रशासनिक अभ्यासलाई संस्थागत गर्ने कार्यमा निजामती सेवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

साथै, दिवसको उपलक्ष्यमा निजामती सेवाका सम्पूर्ण परिवारलाई सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उज्ज्वल भविष्यका लागि शुभेच्छा प्रकट गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्