निजामती सेवा दिवस धुमधामका साथ मनाईदै, ४१ जनालाई पुरस्कार

शनिबार, भदौ २१, २०८२

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको दिनको सम्झनामा भदौ २२ गते गते आईतबार  ‘निजामती सेवा दिवस’ धुमधामका साथ् मनाईने भएको छ। विसं २०१२ भदौ २२ गते पहिलोपटक निजामती सेवासम्बन्धी ऐन जारी भएको थियो। 

निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको छ। 

निजामती सेवामा रहेका करिब ८५ हजार कर्मचारीका लागि यो दिवस ठूलो उत्सव र कदर गर्ने दिनका रूपमा लिने गरिएको छ । सेवा दिवस मनाउन मुख्यसचिवको अध्यक्षतामा गठित मूल समारोह मातहतका उपसमितिबाट स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्‍याली, दीपावलीजस्ता कार्यक्रम तय गरिएको छ ।

यस दिवसका उपलक्ष्यमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा राजधानीमा हुने मूल समारोहमा वर्षभरमा राम्रो काम गर्ने कर्मचारीको मूल्याङ्कन गरी एक जनालाई सर्वाेत्कृष्ट निजामती, १० जनालाई उत्कृष्ट निजामती र ३० जना निजामती पुरस्कारको समेत घोषणा गरिने छ । अघिल्लो वर्ष घोषणा गरिएका कर्मचारीलाई प्रमुख अतिथिको हातबाट पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

केही कर्मचारीले भ्रष्टाचार र अनियमित कार्य प्रदर्शन गरेका तथा कतिपय राजनीतिज्ञले समेत जनहितका लागि आफूले गर्न चाहेको काम कर्मचारीकै असहयोगमा अघि बढ्न नसकेको भन्ने हल्का टिप्पणीले समग्र सेवाप्रति गलत प्रचार हुन पुगेको निजामती कर्मचारीको बुझाइछ ।

निजामतीलाई खासगरी नागरिकले हाम्रो हितमा काम गर्दैनन्, सेवामुखी हुन सकेनन बरु उल्टो शासकजस्तै बन्न खोजेको भन्ने आक्षेप पनि लाग्दै आएको छ । जनतालाई सरल, सहज र पारदर्शी ढङ्गले सेवा दिन सूचना प्रविधिमैत्री सेवा प्रदानको प्रणाली विकास र अनुशरण गर्न सकिएमा सेवाको साखलाई उँचो बनाउन सहयोग पुग्ने निजामती कर्मचारीको भनाइ छ ।

अर्कातर्फ योग्यता, क्षमता र आवश्यकताका आधारमा नभई राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हुने अवसर, सरुवा, बढुवा र पुरस्कारले सक्षम व्यक्ति ओझेलमा परेको गुनासो समेत निजामती सेवामा प्रशस्त सुनिदैआएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २१, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्