सामान्य मन्त्रालयका धमिरालाई भगवती मन्त्रीले काखी च्याप्छिन् कि न्याँक्छिन् ?

शुक्रबार, भदौ २०, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको कार्यशैली र कार्य सम्पादनमाथि शुरुवाती चरणमै जुठो लागेको छ ।

मन्त्री हुन्छु भन्ने छेकछन्द समेत नभएकी भगवतीलाई सामान्य मन्त्रालय आईलागेपछि उनी खुशी नहुने कुरै भएन । एकवारको जुनीमा मन्त्री भएकी न्यौपानेले उक्त मन्त्रालयको स्वभाव र चरित्र बुझ्न नपाउँदै विवादमा परेकी छिन् ।

कर्मचारी सरुवामा नरम र करम मिलाउँन नजान्दा र केही स्वार्थको भकारीका गोठाले कर्मचारीको फन्दामा पर्नाले भगवती माथि प्रश्न उठेको छ ।

स्थानीय तहका निमित्तलाई सिनित्त पारेर केही हदसम्म राम्रो काम गरेकी उनले आफ्नै मन्त्रालयको वेतिथिलाई भने देख्नै सकेकी छैनन्।

कर्मचारी सरुवालाई विवादित बनाउने सामान्यका धमिराले भने बमोजिमको काम गरेर मन्त्री न्यौपाने तिनैको कठपुतली बनेको पो होकी भन्ने आशंका हुन थालेको छ ।

बतिको फेदमा अध्याँरो भनेझैं भएको सामान्य मन्त्रालयमा असामान्य वेतिथी छ । एक दशकसम्म सामान्यकै कोठाचोटा चहारेर जागिर खाने पुगनपुग दुई दर्जन सकल दर्जाका रैथाने कर्मचारीका कारण सुशासनमा ऐजेरु पलाएको छ । त्यस्तो ऐजेरुले मन्त्रालयनै सनातनी रुपमा विवादित हुँदै आएको छ ।

केही उपसचिव, केही अधिकृत र बहुसंख्यक नायव सुब्बाको त्रिवेणीले मन्त्रालयमा हुने सरुवा सधै विवादित बन्ने गरेको छ । 

कर्मचारी सरुवामा सौता हाल्ने र मोलमोलाई गर्ने वान्छनीय योग्यता भएका कर्मचारी मन्त्रीका दाहिना बनेका छन्। एमाले पार्टीकी सांसद भगवती मन्त्री भएर आएपछि एमाले निकट कर्मचारी त्यहाँको हर्ताकर्ता नै बनेका छन्। एमालेवाला कमचारीका महासचिव आरसी भनेर सर्वत्र चिनिने रामचन्द्र अधिकारी सामान्यका सनातनी रैथाने सुब्वा हुन्। अधिकारी मात्र एक्ला नभएर उनीजस्ता दर्जन सुब्बाले मन्त्रालयले गर्ने सरुवाको रखबरी गरि आएको बर्षौ भयो । न त्यस्ताको सरुवा हुन्छ न त तिनले कामै गर्छन । सरुवाका बेला कान ठाडो पारेर चुकुल हाल्ने काम गर्नेलाई मन्त्रीले तितरवितर पारेमा मात्र उनलाई सामान्य मन्त्री भन्न मिल्ने केहीको तर्क छ ।

कांग्रेस निकट केही कर्मचारीले पनि सामान्यमा हाजिर गर्ने बाहेक केही काम गर्दैनन् । छिर्के हान्ने, च्याँखे थाप्ने बाहेकका कामै नगर्ने कर्मचारीको मूली भएकी मन्त्री न्यौपानेले मौजुदा निजामती ऐनले दिएको अधिकार प्रयोग गरेर सामान्यमा जरा गाडेर बसेका कर्मचारीको सरुवा गर्छिन कि रमिता हेरेर निरिहता प्रकट गर्छिन केही समय पर्खनै पर्ने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्