सोसल मिडिया
युनिकोड
गृहमन्त्रालयले आफैले बनाएको कार्यविधिलाई लगौटी लगाएर मनोमानी गरेको छ। मन्त्रालयका मूली गृहमन्त्री रमेश लेखकले त्यसरी कार्यविधिलाई लत्याएका हुन्।
कानूनको व्याख्या गर्न सिपालु अधिवक्ता समेत रहेका गृहमन्त्री लेखकको पेलाईलाई सौदाबाजी संग तुलना गरेर हेर्न थालिएको छ। लेखकले अतिरिक्त लाभ उठाएको शंका गर्ने सुविधा उनैले दिएका छन्।
गत भदौ ४ गते पर्साको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गणेश अर्याललाई लेखकले १५ दिनमै फेरि ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनाएर पठाएपछि उनको कार्यसम्पादनमा प्रश्न उठाउने ठाउँ खडा भएको छ।
गृहमन्त्री लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका हुन् । अर्याललाई चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर खटाउँदा गृहमन्त्री लेखकले ‘प्रमुख जिल्ला अधिकारी पदस्थापन वा सरुवा गर्ने वा काज खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ नै उल्लङ्घन गरेका छन् ।
कार्यविधिमा ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाउँदा ‘ख’ र ‘ग’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर काम गरेको प्रथम श्रेणीको अधिकृतलाई खटाउने उल्लेख छ । त्यस्तै, ‘क’ वर्गको जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकालाई ‘ख’ वर्ग वा मन्त्रालयका महाशाखा वा विभागमा जिम्मेवारी दिने कार्यविधिमा लेखिएको छ ।
तर, चितवनको प्रमुख जिल्ला अधिकारी बन्दा अर्याल लगातार तेस्रो ‘क’ वर्गको प्रमुख जिल्ला अधिकारी बन्ने सहसचिव बनेका छन् । अर्याल पर्साको प्रमुख जिल्ला अधिकारी हुनुअघि रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनेका थिए । कार्यविधि अनुसार रुपन्देही, पर्सा र चितवन ‘क’ वर्गका जिल्ला हुन् ।
मन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार नै गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहेका सहसचिव शिवलाल तिवारीलाई भोजपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम भने मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । बुझिए अनुसार गौतम भोजपुर पुग्नै नपाई तानिएका हुन्।