चन्द्रकुवेर खापुङ पुलिसको मूली, गृहसचिव गोकर्णले लगाईदिए फूली 

बिहीबार, भदौ १९, २०८२

नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले आईजीपी खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। 

आजै उनले प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हालेका छन् । सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। 

मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। उनी प्रधानमन्त्री केपी ओलीको जन्मजिल्ला तेह्रथुमकै हुन्। 

हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन्। नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था कायम रहे खापुङ अबको अढाई महिनामै अवकाश हुनेछन्। उनी आगामी कार्तिक २७ गते घर जानेछन्। 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्