पूर्वराष्ट्रपति विद्यामाथि ओली बालुवाटारमा यसरी पोखिए, के-के मा दुखाए चित्त ?

बिहीबार, भदौ १२, २०८२

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कडा टिप्पणी गरेका छन् । भण्डारीले पार्टी सदस्यताका लागि निवेदन नै नदिएको उनको दाबी छ । 

“च्यासलले सदस्यता खायो भन्नुहुन्छ, सदस्यता खाएको छैन । पार्टीमा निवेदन दिनु भएको छैन । प्रकृया मिलेन,”  ओलीले भने, “सदस्यता नवीकरण हुँदैन, पार्टीले निर्णय गर्नुपर्छ ।”

विधान अधिवेशनका प्रतिनिधिहरूलाई बुधबार बालुबाटारमा प्रशिक्षण दिँदै ओलीले बालुवाटार बोलाउँदा भण्डारी आफूलाई भेट्न पार्टी कार्यालय पुगेको भन्दै असन्तुष्टि जनाएको काठमाडौं एमाले जिल्ला अध्यक्ष दीपक निरौलाले बताए । 

ओलीले भण्डारीलाई राजनीतिमा नआउन पुनः सुझाव दिए । ओलीले भण्डारीले आफूलाई सहयोग गर्न भन्दै तपाईं पार्टी चलाउन सक्नुहुन्न भनेको सुनाए । ओलीले नेकपा एमालेमा आएर अध्यक्ष हुन सम्भव नरहेको बताए । 

“मैले भ्रममा नरहन भनेँ । अनुभव छैन भनेँ । चुनाव लड्ने त भन्नुभयो । यो पार्टीमा चुनाव लड्नु पर्दैन भनेँ,” ओेलीले भने, “पूर्वराष्ट्रपति भएको व्यक्ति अशोभनीय गतिविधि गर्नु भएन ।” 

अध्यक्ष निरौलाका अनुसार ओलीले पूर्व राष्ट्रपति भएको व्यक्तिले असोभनिय गतिविधि गर्नु नहुने, पार्टीको पक्षमा नबोलेकाहरुलाई भेला पारेर हिँडेको, आफूले पार्टीलाई अगाडि बढाइरहेको तर कतिपयले यो नदेखेको, मदन भण्डारी फाउन्डेसनले जबज बचाउन नसक्ने, विद्या भण्डारीलाई उचालेर ईश्वर पोखरेलले बाटो बिराएको, उनले अभागीलाई खाने बेलामा रिस उठेजस्तै व्यवहार गरेको जस्ता टिप्पणी पनि गरेका छन्। 

विद्यालाई आफूले जति सम्मान अरु कसैले पनि नगरेको तर साथ दिँदा पनि अहिले आफू विद्याबाटै अपमानित हुनु परेको, विद्याबाहेक पार्टीमा आफूलाई चुनौति दिने दम कसैसँग नभएको, विद्याले आफूलाई छाडे सबै मिल्ने पनि ओलीले बताएका छन्। 

विद्यान महाधिवेशनमा एकदिन दस्ताबेज प्रस्तुत हुने, एक दिन छलफल चल्ने र अर्कोदिन समापन हुने पूर्वानुमान पनि ओलीेले लगाएका छन्। विधानमहाधिवेश एकताको महाधिवेश हुने अन्यथा गर्नेलाई हिसाबकिताब गरिने धम्की पनि उनले दिएका छन्। 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०९:५०
प्रतिक्रिया दिनुहोस्