सोसल मिडिया
युनिकोड
नेपाल सरकारका सचिव भरतमणि सुवेदीले राजीनामा दिएका छन्। उनले दिएको राजीनामा सोमबार बसेको क्याबिनेटले स्वीकृत पनि गरिसकेको छ। उनी चार महिनापछि पौष २८ गते अवकाशमा जाँदै थिए।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको केही समयपछि उनले राजीनामा बुझाएका हुन्। उनलाई भावी मुख्यसचिवका रुपमा निजामति सेवामा सुशुप्त चर्चा हुँदै थियो तर उनले एक्कासी राजीनामा दिएपछि त्यो चर्चा राजीनामा संगै सेलाएको छ।
मुख्यसचिव एकनारायण अर्याल आगामी मंसिर ९ गते घर जान लागेका छन्। ५८ वर्षे उमेर हदले अर्याल घर गएपछिको सम्भावित मुख्यसचिवको रूपमा सुवेदीलाई हेरिएको थियो। अहिलेका गृहसचिव गोकर्णमणि दुवाडी ५ वर्ष सचिव चलाएर मंसिर ९ गते मुख्यसचिव संगै घर जानेछन्। त्यसपछि प्रशासन सेवाको वरिष्ठ सचिव उनै सुवेदी हुने भएकाले उनलाई मुख्यसचिवको दाबेदार ठानिएको थियो। तर, उनको राजीनामा पछि त्यो सबै दाबी खारेज भएको छ।
मुख्यसचिव र गृहसचिवपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतमले मंसिर १७ गते अनिवार्य अवकाश पाउँदैछन्। ५८ वर्षे उमेर हदका कारण उनी ४ महिनापछि अनिवार्य अवकाशमा जान लागेका छन् । गौतमपछि सुवेदीको अवकाशको पालो थियो। सुवेदीपछि अहिले योजना आयोगमा रहेका सुमनराज अर्याल घर जाने छन्।
उ बेला सुमनराज अर्याललाई ‘पेलेर’ भरतमणि सुवेदी सचिव भएका थिए। जबकि सचिव बढुवाको पहिलो नम्बरमा थिए अर्याल । भरतमणि सुवेदी दोश्रो नम्बरमा । उनलाई सचिवमा उकालिएनमात्र सिधै पदस्थापन पनि गरियो साविककै कार्यालयमा । सुवेदी लुम्बिनी प्रदेशमै कार्यरत थिए । पेलेका सुवेदीले राजीनामा दिए पनि पेलिएका अर्याल भने माघ १८ गते अवकाशमा जाँदैछन्। उनी पनि ५ वर्ष पूरा गरेर अवकाशमा जान लागेका हुन्।
वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरे फागुन ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पुगेर उनी घर जान लागेका हुन्। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल फागुन २३ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी पनि ५८ वर्ष लागेर सरकारी सेवाबाट बिदा भएर घर जान लागेका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी पनि चैत ८ गते अवकाश हुने सूचीमा छन्। उनी ५८ वर्षे उमेर हदका कारण २०८२ चैत ८ गते अनिवार्य अवकाशमा जानेछन्। पशुपन्छी विकास मन्त्रालयका सचिव दिपककुमार खराल चैत १४ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश जान लागेका हुन्। चैत मसान्त (३० गते) राष्ट्रिय सतर्कता केन्द्रका सचिव रामआधार साह पनि घर जाने सूचीमा छन्।
२०८३ असार १६ गते खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य ५ वर्षे सचिवको कार्यकाल पूरा गरेर अवकाश हुने सूचीमा छिन्। राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी २०८३ असार २० गते र श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव कृष्णहरि पुष्कर कर्ण असार २३ गते अवकाशमा जाने सूचीमा छन्। उनीहरू ५ वर्षे सेवा अवधि पूरा गरेर घर जाने सूचीमा देखिन्छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल पनि ५ वर्ष कटाएर असार २७ गते घर जाने सूचीमा छन्। उनी अवकाशमा गएसँगै उक्त दरबन्दी स्वतः कटौती हुन्छ।