सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा तीन तीन बिताउने भएका छन्। निम्तो दिन आएका भारतीय विदेशसचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिने हुने निश्चित भएको हो।
प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिनको हुने र भ्रमणको मिति भदौ ३० देखि असोज १ गतेसम्मको लागि तय गरिएको छ परराष्ट्र मन्त्रालय स्रोतले पुष्टी गरेको छ।
विगतमा पहिले राजधानी नयाँदिल्ली जाने परम्परा तोड्दै यसपटक प्रधानमन्त्री ओली काठमाडौंबाट चाटर्ड उडानमा सिधै बिहार राज्यको बोधगया जानेछन् । बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो ।
ओली २०८१ असार ३१ गते प्रधानमन्त्री भएपछि गर्न लागेको यो पहिलो भारत भ्रमण हो । यसबीचमा उनले भारत भ्रमण नगरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने दुईपटक भेटवार्ता भएको छ । गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा उनीहरूबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री ओली भारत जानुअघि चीनको भ्रमणमा जाने तयारीमा छन् । सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।
सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिमा हुँदैछ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।
सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । तियानजिमा पनि प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ । भारत सांघाई सहयोग संगठनको सदस्य हो भने नेपाल ‘डायलग पार्टनर’ हो । प्रधानमन्त्री भए यता ओलीको मोदी संग चीनमा तेश्रो पटक र भारतमा चौथो पटक भेट हुने भएको छ भने उनी प्रधानमन्त्री बनेको एक वर्ष काटेपछि हुन लागेको भारत भ्रमणमा केही महत्वपूर्ण सम्झौता हुने भएको छ।