सोसल मिडिया
युनिकोड
विशेष अदालतका न्यायाधीशहरूको टिम नै फेरिएको छ। पाटन उच्च अदालत दरबन्दी भई काजमा विशेष अदालतको अध्यक्षमा कार्यरत न्यायाधीश टेकनारायण कुँवरसहित ६ जना न्यायाधीश सरुवा भएका छन्। विशेष अदालतमा ६ जना न्यायाधीश कार्यरत थिए।
कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गर्न न्याय परिषद्ले सिफारिस गरेको छ। न्यायाधीश तेजनारायण सिंह राई उच्च अदालत पोखरा, रामबहादुर थापा उच्च अदालत जनकपुरको राजविराज इजलास, मुरारीबाबु श्रेष्ठ उच्च अदालत जनकपुर, रितेन्द्र थापा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज, विदुर कोइराला उच्च अदालत पाटनको हेटौँडा इजलासमा सरुवा भएका छन्।
कोइराला केही समयअघिमात्रै विशेष अदालत काजमा खटिएका हुन्। उनको भने उच्च अदालत पाटनबाट हेटौँडा इजलासमा दरबन्दीमात्रै सारिएको हो।
६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस गरेको परिषद्ले अब ५ जना न्यायाधीश ल्याउन पनि सिफारिस गरेको छ। विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई ल्याउन सिफारिस गरिएको छ।
सदस्यहरूमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई ल्याउन सिफारिस गरिएको छ।