सोसल मिडिया
युनिकोड
ओली सरकारले लामो समयपछि एकै पटक ७२ सहसचिवको सरुवा गरेको छ। सोमबार अबेर बसेको क्याबिनेटले गरेको निर्णय अनुसार सरुवा गरिएकामा दुई जिल्लाका सिडिओ सहित केही महानिर्देशक समेत अटाएका छन्।
ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एकसाथ गृह मन्त्रालयबाट बाहिरिएका छन्। ललितपुरका सिडिओ रमेश ढकाल र भक्तपुरका सिडिओ भरतमणि पाण्डे एकसाथ गृहबाट बाहिरिएका हुन्।
ढकाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सरुवा भएका छन्। भरतमणि पाण्डे अर्थ मन्त्रालय वा अन्तर्गत सरूवा भएका हुन्। ढकाल गत कार्तिकमा ललितपुरको सिडिओ भएर गएका थिए भने पाण्डे भक्तपुरको सिडिओ भएको डेढ महिना मात्र भएको छ।
गृहको जगेडामा रहेका लालबाबु कवारी पनि गृहबाट बाहिरिएका छन्। बाबुराम गौतम, नमराज घिमिरे, बिनु बज्राचार्य कुँवर, शिवलाल तिवारी र सृजना थपलियाको गृह मन्त्रालयमा सरुवा भएको छ।
त्यस्तै बजार अनुगमनमा राम्रो काम गरिरहेका बाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई समावेशी आयोगमा सरुवा गरिएको छ। उनले उपभोक्ताका पक्षमा काम गरेका थिए। निजी स्कूललाई कारवाहीको दायरामा ल्याएका उनलाई सरुवा गर्न एउटा गिरोह तीन महिना यता देखि ज्यान फालेरै लागिपरेको थियो। कारागार व्यवस्थापन विभागका डिजी नारायणप्रसाद भट्टराईको पनि सरुवा भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णलाई पनि त्यहाँ बाट लखेटिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहाल अर्थमन्त्रालय भित्रिएका छन्। सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासनका हाकिम पिताम्बर घिमिरे श्रम मन्त्रालय पुगेका छन्।