सोसल मिडिया
युनिकोड
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ( विश्वासको मत लिने तयारी गरेका छन् । आफ्नै पार्टीका बहादुरसिंह लामालाई अविश्वासको प्रस्तावले हराउँदै २० साउनमा मुख्यमन्त्री नियुक्त भएका उनले आज दिउँसो ४ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।
बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् । मुख्यमन्त्री बनेको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन ।
११० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बानियाँलाई बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक छ । त्यसो त कांग्रेसका ३७ र एमालेका २७ गरी सत्तारुढ गठबन्धमा ६४ सांसद छन् । तर, तर आफ्नै पार्टीका सांसद निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामा समूहका १४ जनाले धोका दिने हो कि भन्ने चिन्ता बानियाँलाई छ ।
किनकी लामाले आफ्नो कार्यकालमा मन्त्री बनाएका तीन सांसदलाई सहमतिअनुसार अहिलेको सरकारमा पनि निरन्तरता नदिएको भनी लामा पक्ष बानियाँसँग रुष्ट छ । यस विषयमा लामा समूह काठमाडौँमा पार्टी सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छ ।
यसबीच लामा समूहका १४ सांसदले आफूपक्षीय ३ जनालाई मुख्यमन्त्री बानियाँले मन्त्री नबनाए विश्वासको मत नदिने तथा उस्तै परे प्रदेशसभा सदस्यबाटै सामूहिक राजीनामा दिने चेतावनी पनि दिएका छन् ।
सोमबार सभापति देउवाले लामा समूहका सांसदहरूलाई बानियाँलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । लामा निकट प्रदेश सांसद गोविन्द लम्सालका अनुसार छलफलका क्रममा पार्टी सभापति देउवाले जालझेल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।
‘म मिलाउँछु । तपाईंहरू अहिले विवाद नगरी मुख्यमन्त्रीलाई विश्वासको मत दिनुहोस् । एउटै कुरामा सधैँ विवाद गर्दा तपाईंहरूलाई पनि राम्रो हुन्न। पार्टीलाई पनि राम्रो हुन्न । मन्त्री नियुक्ति गराउन म मुख्यमन्त्रीलाई भन्छु,’ देउवाले भनेका थिए ।
कांग्रेस बागमती संसदीय दलको नेता चुन्न भएको चुनावका दिन अर्थात् साउन १४ गते मन्त्रीमा नियुक्त लम्साललगायत तीन जनाले शपथ खान नभ्याउँदै बानियाँको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । सोही तीन जनालाई अहिलेको सरकारमा पनि निरन्तरता दिनुपर्ने अडान लामा समूहको छ ।
पहिला उनीहरूलाई मन्त्री नियुक्ति गरेपछि मात्रै विश्वासको मत दिने लम्सालको दाबी छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराह्न ४ बजे विश्वासको मत लिने तालिका बाहिर आइरहँदा कांग्रेसकै असन्तुष्ट १४ प्रदेश सांसद भने आज काठमाडौँमै पत्रकार सम्मेलनको तयारीमा जुटेका छन् ।