बागमतीका नयाँ मुख्यमन्त्री बानियाँले आजै विश्वासको मत लिने, कांग्रेसमै लफडा

मंगलबार, साउन २७, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् ।
 
साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेशसभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।

यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ । गत साउन २४ मा सूचना जारी गर्दै दुवै पार्टी आफ्ना सांसदहरूलाई ह्विप जारी गरेर मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन गरेका छन् । 

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । तर कांग्रेसकै १४ सांसद रिसाएका कारण भ्वांग पर्न सक्ने एकाथरीको बुझाई छ। 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्