गण्डकीका मुख्यमन्त्रीले १८५ दरबन्दी कोल्याप्स पारेर वार्षिक ५० करोड बचत गर्ने 

सोमबार, साउन २६, २०८२

गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेशका सबै निर्देशनालय र दुई केन्द्र खारेज गर्ने निर्णय गरेको हो ।

प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन गर्न गठित पूर्वसचिव शरदचन्द्र पौडेल संयोकत्वमा गठित समितिले गत जेठ २३ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई केलाउन प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरियो । उक्त समितिले आइतबार प्रतिवेदन बुझाएसँगै सोमबारको मन्त्रिपरिषद् बैठकले ९ कार्यालय खारेज र १५ कार्यालय गाभ्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र खारेजमा परेका हुन् ।

यस्तै अन्य ३२ वटा कार्यालयलाई घटाएर १७ वटामा झारिएको मुख्यमन्त्री पाण्डेले बताए । खारेजी र गाभ्ने निर्णयले कर्मचारीको वार्षिक ५० करोड रूपैयाँ बचत हुने मुख्यमन्त्री पाण्डेले सुनाए ।

‘निर्देशनालय र कार्यालयहरू खारेजी र गाभ्ने निर्णयले ५० करोड रुपैयाँ बचत हुने अपेक्षा गरेका छौं । कार्यालय सञ्चालन खर्च लगायतका हिसाब निकाल्दा अझ धेरै बचत हुन सक्छ,’ उनले भने ।

गाभिने कार्यालयलमा सामाजिक विकास कार्यालय र पर्यटन तथा उद्योग कार्यालय छन् । दुवैतर्फ कास्की र स्याङ्जाको कार्यालय कास्कीमा हुँदा मनाङको पनि लमजुङले हेर्नुपर्नेछ । बागलुङले पर्वत, म्याग्दीले मुस्ताङ जिल्लाको पनि काम गर्नुपर्नेछ ।

बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, प्रदेश बीउ-बिजन तथा गुणस्तर नियन्त्रण केन्द्रलाई गाभेर एकीकृत प्रयोगशाला बनाइएको छ । बागवानी विकास स्रोत केन्द्र पोखरालाई कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र पोखरामा गाभ्ने तथा मनाङ र मुस्ताङका कृषि ज्ञान केन्द्रसँग भेटेरेनिरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गाभेर एउटै कार्यालय बनाउने निर्णय मन्त्रिपरिषद्बाट भएको छ ।

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पर्वत र कास्की गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान पोखरामा गाभिएका छन् । प्रादेशिक क्षयरोग केन्द्र पोखरा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गाभेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा क्षयरोग नियन्त्रण बन्नेछ । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट भूमिगत जलस्रोत तथा सिंचाइ कार्यालय नवलपूरको सेवा दिइनेछ ।

खारेज र गाभिएका कार्यालयबाट १८५ कर्मचारीको दरबन्दी पनि खारेज भएको मुख्यमन्त्री पाण्डेले बताए । जसमा अधिकृतस्तरको ४१, सहायकस्तरको ९६ र श्रेणीवीहिन ४८ कर्मचारी छन् ।

योसँगै कर्मचारीको प्रशासनिक संरचनाहरू पुनर्विचार गरिनेछ । जसका लागि ३० दिनभित्र ओएनएम गरेर प्रतिवेदन पेश गर्न सबै मन्त्रालयलाई निर्देशन दिइएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्