कुलिङ अफ पिरियड काण्डले न्याकिएका रामहरिलाई रास्वपाले पनि न्याँक्यो

बुधबार, साउन २१, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले कुलिङ पिरियडमा गडबडी प्रकरणमा सभापति खतिवडा जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।

निजामती सेवा विधेयकको मस्यौदामा छेडखानी गर्दै कुलिङ अफ पिरियडलाई निस्प्रभावी बनाइएको सम्बन्धी विवादमा छानबिनका लागि बनाइएको संसदीय समितिले हिजो प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदनले सभापति खतिवडाले आवश्यक समन्वय गर्न नसकेको भन्दै नैतिक जिम्मेवार ठह¥याएपछि रास्वपाले उनको राजीनामा मागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

हिजोको बैठकमा रास्वपाभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूलाई कुलिङ पिरिड लगाउने प्रस्ताव गरिएको छ । सरकारी सेवाबाट निवृत्त भएको २ वर्षसम्म पार्टी सदस्य नबनाउने गरी विधानमा संसोधन गर्न प्रस्ताव आएको प्रवक्ता झाले जानकारी दिए ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीसलगायत उच्चपदस्थ सम्मानित व्यक्तित्वहरुलाई पार्टीमा नभित्र्याउने समेत प्रस्ताव गरिएको हो ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्