कुलिङ पिरियड छानबिन समितिले रातभरीमा जुटायो सहमति, प्रतिवेदन पास

मंगलबार, साउन २०, २०८२

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिले लामो छलफलपछि कुलिङ अफ पिरियडसम्बन्धी लफडामा सहमति जुटाएको छ। 

मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत छानबिन प्रतिवेदन पास भएको हो। प्रतिवेदनमा समितिका सातै सदस्यले हस्ताक्षर गरेका छन्। 

संघीय निजामती सेवा विधेयकमा राखिएको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधन नै निष्क्रिय बनाउने गरी बाहेक शब्द घुसाइएको पाइएपछि छानबिनका लागि संसदीय समिति गठन गरिएको हो। 

आइतबार बिहानदेखि राति अबेरसम्म र सोमबार दिनभर छलफल गर्दा पनि कुलिङ अफ पिरियडमा ‘बाहेक’ शब्द कसले थप्यो भन्ने विषयमा टुंगोमा नपुगेपछि बैठक मंगलबार बिहानसम्म जारी रहेको हो। 

छानबिन गर्न बनेको समितिले सुरुको २१ दिन र त्यसपछिको ७ दिनमा पनि सहमति जुटाउन सकिरहेको थिएन।

समितिले अनुसन्धानका लागि पाएको समयावधि आइतबार राति १२ बजे नै सकिएको थियो। तर पनि बैठक निष्कर्षमा पुग्न नसकेपछि मंगलबार बिहानसम्म जारी राखिएको हो।

प्रतिवेनदमा के-कस्ता कुरा छन् भन्ने विषयमा जानकारी आउन बाँकी छ। 

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारको संयोजकत्वमा गठित समितिमा कांग्रेस-एमालेबाट दुई-दुई, नेकपा माओवादीबाट एक, रास्वपा र राप्रपाबाट एक-एक जना सांसद सदस्य छन्।

कांग्रेसबाट परियार (संयोजक) र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की समितिमा सदस्य छन्। 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्