कुलिङ पिरियड छानबिन गर्ने समिति आफैं भूमरिमा, म्याद सकिए पनि बैठक

सोमबार, साउन १९, २०८२

निजामती विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बसिरहेको छ। 

सिंहदरबारमा जारी बैठकमा छेडखानीको निश्कर्ष र कारबाही सिफारिसबारे अन्तिम निष्कर्षमा पुग्ने तयारी भइरहेको समिति सदस्य माधव सापकोटाले जानकारी दिए। समितिको म्याद हिजै राति सकिएको छ। तर, जारी बैठक निष्कर्षमा नपुगेकाले आजैको प्रतिनिधिसभा बैठकमा पेश गर्नेगरी निष्कर्ष निकालेनेगरी काम भइरहेको सापकोटाले बताए।

हिजो बिहानदेखि राति ११ बजेसम्म बसेको बैठकले समितिका ४ कार्यदेशमध्ये दुईमा सहमति जुटाए पनि दुईमा सहमति जुटाउन सकेको थिएन। खासगरी दोषी कसलाई किटान गर्ने भन्ने विषयमा समितिका सदस्यहरूबीच सहमति जुट्न नसक्दा प्रतिवेदनले अन्तिम रुप पाउन सकेन। 

कसको संलग्नता देखिन्छ ? कसरी कुलिङ पिरियड निष्क्रिय बनाउने खेल भयो ? र दोषीमाथि कस्तो कारबाही गर्नुपर्ने हो ? भन्नेबारे सिफरिस गर्ने विषयमा विवाद देखिएको हो। 

हिजो प्रतिवेदन लेखनका क्रममा सत्तारुढ सांसदहरु नै एकाएक गायब भएका थिए। एमाले प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले निष्कर्षको व्यहोरा लेखनबारे निर्देशन नै दिएका छन्। नाम किटान नगरी सैद्धान्तिक विषय मात्र उल्लेख गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएकाले त्यहीअनुसार प्रतिवेदन लेख्न उनीहरूको निर्देशन थियो। 

कसैलाई पनि दोषी किटान गर्न प्रमाण नपुुग्ने भएकाले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय र जिम्मेवार कर्मचारीलाई सचेत गराउने गरी प्रतिवेदन ल्याउने कोसिस भइरहेको बुझिएको छ। यसले प्रतिवेदन लेखनमै अर्को चलखेलको आशंका जन्माएको छ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्