भिजिट भिसामा अघोषित प्रतिबन्धले मात्र समस्या किनारा नलाग्ने डिजीको ठहर

आइतबार, साउन १८, २०८२

भिजिट भिसामा अघोषित प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने भन्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पत्रकार सम्मेलन मार्फत निचोड सुनाएका छन् । 

आइतबार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक तिवारीले श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरू समाधान नहुने बताए ।

उनले मानव तस्करी र स्वेच्छिक रूपमा विदेश जान चाहने व्यक्तिलाई एउटै नजरले हेर्न नहुने पनि बताए । भिजिट भिसा दुरुपयोगका सम्बन्धमा भएको अनियमिततालाई मानव तस्करी भन्न नमिल्ने उल्लेख गरे । 

भिजिट भिसासम्बन्धी समस्या अध्यागमनका कर्मचारीको कमजोरी र नियतले नभई प्रणालीगत समस्याको कारण सिर्जित भएको उनको जिकिर छ । 

उनले भिजिट भिसामा देखिएको समस्या र त्यसको अन्त्यका लागि विभिन्न निकायहरू उत्तिकै जिम्मेवार हुने भन्दै अब संयुक्त रूपमा काम गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘‘अब शंस्कापद रूपमा भिजिट भिसामा विदेश जान खोज्नेहरूलाई हामी घर मात्रै फर्काउँदैनौँ । त्यस्तो देखिए अनुसन्धानका लागि प्रहरीलाई बुझाउँछौँ । त्यसका लागि हामी प्रहरीसित समेत मिलेर काम गर्ने योजना बनाउँदैछौँ ।’’ 

उनले अध्यागमन कार्यालयको पुनःसंरचना र कानुनी सुधार गर्नसके मात्र भिजिट भिसा दुरुपयोग रोक्न सकिने बताए । तिवारी केहि दिन अघि मात्र अध्यागमन सम्हाल्न पुगेका हुन्। 
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्