कुलिङ पिरियड छानबिन समितिलाई प्रधानमन्त्री कार्यालयका सचिवले हाने अगुल्टो 

आइतबार, साउन १८, २०८२

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित विशेष संसदीय छानबिन समितिलाई चटारो छ। त्यसैले बैठक जारी छ।  समितिले छानबिन प्रतिवेदन तयार पार्न पाएको समयको आज अन्तिम दिन पनि हो।

गत २३ असारमा गठित समितिलाई २१ दिनको समय दिइएको थियो। समय अभाव भएको भन्दै पछि एक हप्ता थपिएको थियो। उक्त थपिएको समयको आज अन्तिम दिन भएकाले समितो चटारोमा छ। 

विशेष संसदीय छानबिन समितिलाई चटारो त यसै छ त्यसमाथि समितिमा डाकेर सोधपुछ गरिएका कर्मचारीले दिएको ठाडो जवाफले समितिको औचित्य माथि नै प्रश्न उठाएको छ। विशेष समितिले सोधपुछका क्रममा कर्मचारीले व्यक्त गरेको धारणाको सारसंक्षेपमा हस्ताक्षर नगर्ने कर्मचारीको भनाईले समितिको हैसियत माथि प्रश्न उठेको हो। 

सार संक्षेपमा हस्ताक्षर गर्न समितिले कर्मचारीहरूलाई समितिले बोलाएको भएपनि उपस्थित हुन कर्मचारीहरूले अस्वीकार गरेका छन् । 

समितिले मुख्यसचिव, कानुन मन्त्रालयका सचिव र पूर्वसचिव, प्रधानमन्त्री कार्यालयका सचिव, संसदका महासचिव, संसदका कर्मचारीसँग सोधपुछ गरेको थियो। सोधपुछमा सोधिएको प्रश्न उत्तरलाई समितिले उतारेर हस्ताक्षरका लागि बोलाएको थियो। निम्तो पाए पनि ती सबैले नआउने सूचना पठाएको समितिका एक सदस्यले बताए।

अझ प्रधानमन्त्री कार्यालयका कानून सचिवले त समिति केरकार गर्ने अनुसन्धान अधिकारी होइन। तपाईंहरूलाई बयान लिने अधिकार छैन। तपाईंहरू छानबिन समिति मात्र हो। भन्दै कडिकडाउ जवाफ फर्काएका छन्। 

समितिको आजको बैठक बिहान ७:३० बजे सुरु भएको थियो। दिउँसो एकाएक सत्तारुढ दलद्वय नेपाली कांग्रेस र नेकपा एमालेका सदस्य सांसदहरू बारिएर विपक्षीलाई थाहै नदिई दलका नेतासँग छलफल गर्न पुगेका थिए। उनीहरू समितिको बैठकमा फर्किएपछि अहिले सत्तारुढ र प्रतिपक्षी दलका सांसद भएको समितिको बैठक जारी छ। 

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार यो समितिको संयोजक हुन्। समितिमा कांग्रेस-एमालेबाट दुई/दुई, नेकपा माओवादीबाट एक, रास्वपा र राप्रपाबाट एक-एक जना सांसद सदस्य छन्।  

कांग्रेसबाट परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य छन्। 

आजै प्रतिवेदनलाई अन्तिम रुप दिने र भोलि सोमबारको प्रतिनिधिसभामा पेस गर्ने तयारीमा समिती जुटेको छ। 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्