बागमती प्रदेशका मुख्यमन्त्री बहादुरले आजै राजीनामा दिने, बानियाँ बन्ने

आइतबार, साउन १८, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । यही साउन १४ गते नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । केही शर्तपछि मुख्यमन्त्री लामा पदबाट राजीनामा दिन तयार भएको संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए ।

चित्रकारका अनुसार मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनुर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने दुई बुँदामा सहमति भएपछि मार्गप्रशस्त गर्न तयार भएका हुन् ।

लामाले यसअघि कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनीहरूको गत बुधवार नै सपथको तयारी गरेपनि सत्ता साझेदार दल नेकपा एमालेको असहमतिमा सपथ ग्रहण रोकिएको थियो ।

उपनेता चित्रकारले काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किएर उनलाई राजीनामा बुझाउने र उनी हेटौंडा नफर्किएपनि कार्यालयमा राजीनामा पत्र दर्ता गरिने जानकारी दिए ।

लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्