सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् ।
जसका लागि उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग मन्त्रिपरिषद् पूनर्गठनबारे छलफल गरेका छन्। बालुवाटारमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवाका अलावा गृहमन्त्री रमेश लेखकपनि सहभागी छन् ।
एमालेबाट भने प्रधानमन्त्री ओलीसहित उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु सहभागी छन् । मन्त्रीहरु हेरफेरको लागि कांग्रेस तयार नभएको बताईन्छ । तर, एमालेले भने कम्तिमा चार जना मन्त्रीहरु फेर्ने तयारी गरेको छ। उता, सरकारमा सहभागी मधेशवादी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट पनि मन्त्रीहरुको सेट नै फेरिने भएको हो । लोसपाबाट अहिले शरदसिंह भण्डारी श्रममन्त्री छन् ।
उनको ठाउँमा सर्वेन्द्रनाथ शुक्ललाई मन्त्री बनाउने भएको छ । अध्यक्ष महन्थ ठाकुरले शुक्लको नाम बालुवाटारमा पठाईसकेका छन् । यस्तै, दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको अशोक राई नेतृत्वको जसपाले पनि आफ्ना दुवै जना मन्त्रीहरु फिर्ता बोलाउने भएको छ । अहिले खानेपानी मन्त्रीको जिम्मेवारीमा प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारीमा नवलकिशोर साह सुडी छन् ।
उनीहरु दुवै जनालाई एक वर्षको लागि मात्रै सरकारमा पठाएको जसपाको भनाई छ । अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा जसपाले यादवको ठाउँमा प्रमुख सचेतकको जिम्मेवारीमा रहेका डा. वीरेन्द्र प्रसाद महतो र सुडीको ठाउँमा रञ्जु झालाई पठाउने भएको छ । मन्त्रीहरु हेरफेरको विषयमा अध्यक्ष राईले प्रधानमन्त्री ओलीसँग छलफल गरेर मन्त्रीको सूची बुझाएका छन्।
एमालेले सूर्य थापा, लालप्रसाद साँवा, जुली महतो लगायतका लाई मन्त्री बनाउने भएको छ। केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी श्रममन्त्री शरदसिंह भण्डारीलाई पदमुक्त गर्न पत्र पठाएका थिए।