सोसल मिडिया
युनिकोड
बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री श्याम बहादुर खड्काले राजीनामा दिएका छन्। मंगलबार (आज) मन्त्री खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका हुन्। कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने अन्तिम समयमा मन्त्री पदबाट राजीनामा दिएका हुन्।
अविश्वाशको प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्री पदबाट राजीनामा दिएर सांसद ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेका बताए। यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा लामा र बानियाँबीचमा भएको निर्वाचनमा खड्काले लामालाई समर्थन गर्दै आएका थिए।
यो सँगै बगमतीमा कांग्रेसका ५ मन्त्रीले राजीनामा दिएका हुन्। यसअघि प्रदेशका सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए। पाँचजनै मन्त्रीले इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने बताएका छन्। बागमती प्रदेशमा काङ्ग्रेसको ३७ सिट छ। अविश्वासको प्रस्तावमा बहुमत पुर्याउन बानियाँ समूह सक्रिय देखिएका छन्।
यता, वाग्मती प्रदेश कांग्रेस संसदीय दलको नेता परिवर्तनका लागि हस्ताक्षर गरेका दुई सदस्यले अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् ।
अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका हुन् । कांग्रेसका दुई सांसदहरु माया श्रेष्ठ र मिना पराजुलीले आफूहरुलाई जानकारी नै नगराइ हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।