सोसल मिडिया
युनिकोड
यातायात व्यवस्था विभागमा अधिकृत, उपसचिव हुँदै महानिर्देशकसम्म भएर सेवा प्रदान गरेका सहसचिव टोकराज पाण्डेलाई गृहमन्त्री रमेश लेखकले किस्तिमै राखेर रुपन्देहीको सिडिओ भएर सेवा गर्न म्यादी लाईसेन्स दिएका छन्। रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेलाई ठिक नौ महिनामा विस्थापित गरेर पाण्डे त्यहाँ पुगेका हुन्।
जागिरे जीवन हुलाक सेवाबाट सुरु गरेका पाण्डे चल्तापूर्जा सहसचिवका रूपमा परिचित छन्। तिनै चल्तापूर्जा पाण्डे यातायातको डिजी हुँदा पाण्डेका पालामा १ हजार ८४ अवैध लाइसेन्स वितरण भएको विवरण अख्तियारले अझै केलाई रहेको छ।
२०७९ भदौ २० देखि २०७९ माघ १४ सम्म यातायात व्यवस्था विभागको महानिर्देशक रहेका डा. पाण्डे कर्मचारीले सुशासन कायम गर्नुपर्छ भन्ने चर्चित सहसचिवमध्येका एक हुन्।
पाण्डे २०५५ फागुन १६ गते हुलाकको खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका थिए। ११ वर्ष गोश्वरा हुलाक कार्यालय काठमाडौंमा खरिदारका रूपमा काम गरेका उनी विशेष बढुवा लिएर २०६६ साउन १ गते हुलाकको नायब सुब्बा (नासु) भए। गोश्वारा हुलाक कार्यालयमा दुई वर्ष नासुकै रूपमा काम गरेपछि उनी नेपाल प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए।
२०६८ भदौ २८ गते शाखा अधिकृतको नियुक्ति लिएका पाण्डे एक वर्षभन्दा बढी समय सामान्य प्रशासन मन्त्रालयमा बसेका थिए। २०६९ कात्तिक २६ गते उनी तत्कालीन भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय सरुवा भएका थिए। त्यसपछि यातायात व्यवस्था विभाग हुँदै पाण्डेले यातायात कार्यालय साना–ठुला सवारी एकान्तकुनामा पनि काम गरेका थिए।
२०६८ भदौ २० देखि २०७४ साउन १९ सम्म करिब ६ वर्ष शाखा अधिकृत रहेका पाण्डे झन्डै पाँच वर्ष त यातायातमै थिए। २०७४ साउनमा उपसचिव भएपछि फेरि उनी यातायातमै सरुवा भए। डा. पाण्डेले सहसचिव भएपछि मात्र यातायात छाडेका हुन्।
उपसचिव बनेको एक वर्ष नपुग्दै २०७५ जेठ १३ गते सहसचिवमा नियुक्ति लिएका उनी बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए। त्यसपछि कलैया गएको तीन महिना नबित्दै डा। पाण्डे काठमाडौं महानगरपालिका आए।
२०७५ भदौ १७ गते काठमाडौं महानगरपालिकामा आएका उनी फागुन २८ गते रजिस्ट्रार भएर सहकारी विभागमा पुगेका थिए। अहिले सहकारी क्षेत्रमा देखिएको समस्याबारे पनि उनी जानकार छन्। त्यहाँ दुई वर्ष बसेपछि उनी रक्षा मन्त्रालय सरुवा भए।
रक्षामा ६ महिना बसेपछि डा. पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगे। त्यहाँ एक वर्ष पनि नबसी उनी यातायात व्यवस्था विभागको महानिर्देशक भएर करिब ६ महिना बसेका थिए। त्यसपछि निजामति किताबखानाको डिजी हुँदै गृहमन्त्रालय छिरेका उनले विमानस्थल भन्सार कार्यालयका प्रमुख भएर पनि काम गरे।
आफूलाई तान्त्रिक भन्न रुचाउने पाण्डे पहिलो पटक सिडिओ बनेका हुन्।