सहसचिव भएको महिना दिनमै उद्योगको डिजी पड्काएका तिवारीले सम्हाले अध्यागमन  

आइतबार, साउन ११, २०८२

असार ३१ गते गृहमन्त्रालयको प्रवक्ता भएर काम गरिरहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी तोकेर गृहमन्त्री रमेश लेखकले निर्णय गरे। तिनै तिवारीले १२ दिनपछि आज मध्यान्ह कालिकास्थानस्थित विभागको कार्यालयमा पद बहाली गरेका छन्। तिवारीले गोविन्द प्रसाद रिजाललाई विस्थापित गरेका हुन्। 

गृहमन्त्रीले तिवारी सहित अन्य चार सहसचिवको पनि सरुवा गरेका थिए। रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालालाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो ।

प्रमुख अध्यागमन अधिकृतमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ल्याइएको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सम्म प्रवक्ताको जिम्मेवारीमा रहेका थिए। खोटाङको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयकी सहसचिव कल्पना श्रेष्ठलाई पठाइएको थियो ।

२०७८ कार्तिकमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिवमा नाम निकालेका तिवारी त्यसको एक महिनामै मंसीरमा उद्योग विभागको महानिर्देशक बन्ने अवसर पाएका थिए। उनले सुनसरीको सिडिओ बनेर आफ्नो क्षमता देखाई सकेका छन्। 

सहसचिव भएको चार वर्ष नपुग्दै उनले अध्यागमनको जिम्मा लिएका छन्। अध्यागमन विभागप्रति आम जनमानस तथा अन्तर्राष्ट्रिय समुदायको विश्वास मजबुत बनाउने गरी कार्यशैली परिवर्तन गरिने उनले बताएका छन्। 

अध्यागमनको इमेज सुधार गरी पूर्ण रूपमा सुशासनको प्रत्याभूति गराउने र राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय स्तरमा विभागको विश्वसनीयता बढाउने गरी काम गर्ने कसम खाएका उनले कति काम गर्न सक्छन त्यो भने भावी दिनमा देखिने नै छ। २०६१ सालमा हुलाक अधिकृत बनेका रामचन्द्रले आफ्नो तागत देखाउन हरसम्भव प्रयत्न गर्ने अड्कल काटिएको छ। 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्