न्यायाधीश नभइ सेवानिवृत्त हुने पहिलो मुख्य रजिष्ट्रार बने ढकाल

आइतबार, साउन ११, २०८२

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालको आज जन्मदिन। आजै बाट ५८ वर्ष लागेका उनी उमेरहदका कारण न्यायपालिकाको सर्वोच्च प्रशासकको पदबाट घर गएका छन्।  उनी कार्यालय आउन भने केही दिनअघिबाटै छाडिसकेका छन्। न्यायाधीश नभइकन घर जानु परेको तोडका बीचमा उनले जन्मदिन मनाउनु परेको छ। 

ढकाल २०८० पुसमा मुख्य सचिव सरहको मुख्य रजिस्ट्रार पदमा बढुवा भएका थिए। कास्कीका ढकालले २०५२ सालमा न्याय सेवाको तृतीय श्रेणी (शाखा अधिकृत) मा नियुक्ति पाएका थिए। २०५९ मा द्वितीय श्रेणी (उपसचिवस्तर), २०६६ मा प्रथम श्रेणी (सहसचिवस्तर) र २०७५ मा सचिवमा बढुवा भएका थिए।

यसअघिका मुख्य रजिस्ट्रारहरु फटाफट उच्च अदालतको मुख्य न्यायाधीश र न्यायाधीश पदमा नियुक्ति पाएका भए पनि ढकालले त्यस्तो अवसर पाएनन्। यसअघिका मुख्य रजिस्ट्रारहरु नहकुल सुवेदी र नृपध्वज निरौला उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भइसकेका छन्।

अरु दुई मुख्य रजिस्ट्रार राजन भट्टराई र लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश हुँदै हाल मुख्य न्यायाधीशका रुपमा कार्यरत छन्।

निजामती सेवा विधेयक संसदबाट गत असारमै पारित भएको भए उनको एक वर्ष पदावधि थपिने थियो। किनभने, उक्त विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिको अर्को आर्थिक वर्षमा निवृत्त हुने मुख्य सचिवस्तरका कर्मचारीको उमेर हद ५९ वर्ष हुने व्यवस्था प्रस्ताव गरिएको छ। तर कुलिङ अफ पिरियडको विवादले उक्त विधेयक संसदमै अड्किएको छ।

न्यायाधीश नभइ सेवानिवृत्त हुने पहिलो मुख्य रजिष्ट्रारको रुपमा भने ढकालले नाम सधैलाई लेखाउने भएका छन्। यो पनि एउटा ईतिहास नै हो। 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्