सोसल मिडिया
युनिकोड
संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’का विषयमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएका अभिव्यक्तिप्रति नेकपा एमालेका नेता तथा सांसद योगेश भट्टराईले तीव्र आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रचण्डको भनाइप्रति प्रतिक्रिया जनाउँदै भट्टराईले उनको अभिव्यक्तिले गम्भीर राजनीतिक प्रश्न उठाएको बताएका छन्। उनले स्पष्ट शब्दमा भनेका छन्- “छानबिन गर्ने हो भने तपाईं (प्रचण्ड) बाटै सुरु गर्नुपर्छ।”
प्रचण्डले संघीय निजामती सेवा विधेयकमा समावेश कुलिङ अफ पिरियडको व्यवस्थामा ‘छेडछाड’ गरिएको भन्दै त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नताबारे छानबिन हुनुपर्ने बताएका थिए। तर भट्टराईले सो अभिव्यक्तिलाई “विरोधाभासी” भन्दै तीनवटा बुँदामा जवाफ माग गरेका छन्।
१. कुलिङ अफ पिरियडको पक्षमा सांसदहरू:
भट्टराईका अनुसार कुलिङ अफ पिरियडको व्यवस्था सांसदहरूको संशोधन प्रस्तावका आधारमा विधेयकमा समावेश गरिएको हो। “हामी त्यसका पक्षमा थियौं र अहिले पनि त्यही अडानमा छौं,” भट्टराईले उल्लेख गरेका छन्।
२. विधेयक दर्ता हुँदा प्रचण्ड नै प्रधानमन्त्री थिए:
भट्टराईले स्मरण गराएका छन्– २०८० फागुन ११ गते विधेयक संसदमा दर्ता हुँदा प्रचण्ड स्वयं प्रधानमन्त्री थिए। त्यही सरकारको मन्त्रिपरिषद्ले सो विधेयक संसदमा पठाएको थियो, जसमा कुलिङ अफ पिरियडको कुनै व्यवस्था थिएन। “त्यसबेला यो विषय किन समावेश भएन?” भन्दै उनले प्रचण्डको अडानप्रति शंका व्यक्त गरेका छन्।
३. समितिमा निर्णय, संसदमा फेरबदल:
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका वरिष्ठ सदस्यसमेत रहेका प्रचण्डले नेतृत्व गरेको समितिले कुलिङ अफ पिरियडको व्यवस्था गर्ने निर्णय गरेको भए पनि संसदमा पेश हुँदा त्यसमा हेरफेर गरिएको भट्टराईको आरोप छ। “समितिको निर्णय तलमाथि भएको छ भने त्यसको जवाफ तपाईंले नै दिनुपर्ने हो कि होइन?” भन्दै उनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएका छन्।
भट्टराईले प्रचण्डको बोली नै उनीमाथि ‘गलापासो’ बन्ने चेतावनी दिएका छन्। “विरोधी कुर्सीमा पुगेपछि मात्र कुलिङ अफ पिरियडको भूत किन जाग्यो?” भन्दै उनले पूर्वप्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना गरेका छन्।